Power of Attorney

अधिकृत वारेशनामा प्रमाणीकरण (Power of Attorney-PoA Certification)

नेपाली महावाणिज्यदूतावास, छेन्दुबाट  (सिचुवान प्रान्त, क्वीचो प्रान्त, र छोङछिङ शहर) मा बसोबास गर्ने नेपाली नागरिकले रितपूर्वक पेश गर्ने अधिकृत वारेशनामा प्रमाणीकरण गरिन्छ। अधिकृत वारेशनामाको कागजात तयार गर्दा नेपालको मुलुकी ऐन (देवानी संहिता/मुलुकी देवानी कार्यविधि संहिता ,२०७४) मा उल्लेख भएको कानुनी प्रावधान अनुसार नेपाली कागजमा तयार गरिएको हुनुपर्दछ। अधिकृत वारेशनामा प्रमाणीकरणका लागि आवेदन दिने व्यक्ति नियोगमा पूर्व समय लिएर मात्रै यस महावाणिज्यदूतावासमा स्वयं उपस्थित भई उक्त कागजातमा आफ्नो औंठाछाप र हस्ताक्षर महावाणिज्यदूतको उपस्थितिमा गर्नुपर्ने हुन्छ।

नियोगमा पूर्व समय लिन नियोगको इमेलः cgnchengdu@hotmail.com वा कार्यालय टेलिफोन 02862036263  मा सम्पर्क गरी नियोगले तोकेको समयमा आउनुपर्नेछ।

वारेशनामा प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया र कागजातहरुः

अधिकृत वारेशनामा प्रमाणीकरणका लागि सम्पर्क राख्दा देहायको विषयमा ध्यान दिनु पर्नेछः

१. सहिछापको लागि महावाणिज्यदूत/कार्यवाहक महावाणिज्यदूत समक्ष अधिकृत वारेसनामा दिने व्यक्ति स्वयम् उपस्थित हुनुपर्दछ।

२. मुलकी देवानी कार्यबिधि (संहिता)  ऐन, २०७४ मा उल्लेख भएको प्रावधान समेटिएको र अधिबक्ताद्वारा तयार गरिएको अधिकृत वारेसनामा नेपाली कागजमा प्रिन्ट भएको  हुनुपर्दछ । मुद्धा-मामिला परिसकेको भए  तारेख पत्रको कपि र मुद्धा-मामिला दायर गर्नुपर्ने भए स्पष्ट बिबरण लिखितम मा खुलाएको हुनुपर्दछ।

३. अधिकृत वारेसनामा २ प्रति सक्कल र नेपाली महावाणिज्यदूतावास, छेन्दुलाई सम्बोधन गरिएको १ प्रति निवेदन हुनुपर्नेछ।अधिकृत वारेशनामाको लिखितम मा समेत नेपाली महावाणिज्यदूतावास, छेन्दुका महावाणिज्यदूत/कार्यवाहक महावाणिज्यदूत समक्ष उपस्थित भई हस्ताक्षर गरेको व्यहोरा उल्लेख हुनुपर्दछ।

४. अधिकृत वारेसनामा दिने व्यक्तिको सक्कल नागरिकता प्रमाणपत्र तथा त्यसको प्रतिलिपि र अधिकृत वारेसनामा लिने व्यक्तिको नागरिकताको प्रतिलिपि हुनुपर्दछ।

५. अधिकृत वारेसनामा दिने व्यक्तिको नेपाली राहदानी र भिसा कपी सक्कल र फोटोकपी संलग्न गर्नुपर्दछ।

६. घर/जग्गा खरीदविक्रि वा हक हस्तान्तरण सम्बन्धी भए घर/जग्गाधनी प्रमाणपत्रको सक्कल र प्रमाणित प्रति संलग्न हुनुपर्नेछ। चालु आ.व. को मालपोत तिरेको सक्कल रसिद वा प्रमाणित प्रति संलग्न हुनुपर्दछ।

७. सवारीसाधन सम्बन्धी भए सवारी धनिपूर्जा सक्कल वा  प्रमाणित फोटोकपी संलग्न गर्नुपर्दछ।

८. शेयर धितोपत्र सम्बन्धी भएमा शेयरधनि प्रमाण पत्र सक्कल वा  प्रमाणित फोटोकपी संलग्न गर्नुपर्दछ।

९. सम्बन्ध विच्छेद (Divorce) सम्बन्धी भएमा यदि महिलाले सम्बन्ध विच्छेदको लागि वारेशनामा दिने भएमा श्रीमानको नागरिकता वा राहदानीको प्रतिलिपि संलग्न गर्नुपर्दछ ।यदि पुरुषले सम्बन्ध विच्छेदको लागि वारेशनामा दिने भएमा, श्रीमतीको राहदानी र नागरिकताको प्रतिलिपि र अदालतले हाजिर हुन जारी गरेको पत्र संलग्न हनुपर्ने।

१0. अधिकृत वारेसनामा लिने र दिनेको तीन पुस्ते विवरण उल्लेख भएको हुनुपर्छ ।

११. अधिकृत वारेसनमा दिने र लिने दुवैको हालसालै खिचिएको २/२ प्रति रङ्गिन फोटो ।

१२. किनारा साक्षीमा सदर भनी उल्लेख भएमा दुवै जनाको नाम, ठेगाना तथा सही, यदि रोहवरका साक्षीका सदर भनी उल्लेख भएमा साक्षीहरु महावाणिज्यदूतवासमा उपस्थित हुनुपर्दछ (कानुनी भाषा प्रयुक्त भएकोमा) ।

१३. शुल्क: 700 RMB

वारेशनामा प्रमाणीकरणका लागि लाग्ने समयः नियोगमा पूर्व समय लिएर र वारेशनामा दिने व्यक्ति स्वयं उपस्थित भई सबै आवश्यक कागजात र राजश्व बुझाई र लिखितममा सहीछाप गरिसकेपछि कार्यालयमा सेवाग्राहीको चाप अनुसार सामान्यतया आधा घण्टादेखी १ घण्टाभित्रमा प्रमाणीकरण पूरा हुनेछ।

* नोटः एकपटक प्रमाणीकरण गरिएको वारेशनामा हराएमा, चोरी भएमा, च्यातिएर वा कुनैपनि तबरले नस्ट भएमा पुन: उही राजश्व सहित माथि उल्लेख गरिए बमोजिमको कागजातहरु पेस गरि प्रक्रिया अगाडी बढाउनुपर्दछ ।